डडेल्धुरा: जनस्वास्थ्य प्रवर्द्धनमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले डडेल्धुरामा सञ्चारकर्मी र स्वास्थ्यकर्मी लक्षित पैरवी कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा बिहीबार जिल्ला सदरमुकाममा उक्त कार्यक्रम आयोजित गरिएको हो ।
कार्यक्रममा सञ्चारमार्फत स्वास्थ्य सेवा प्रभावकारिता अभिवृद्धि, स्थानीय तहमा जनचेतना फैलाउने उपाय, र सञ्चारकर्मी–स्वास्थ्यकर्मीबीचको सहकार्यलाई संस्थागत बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रमका क्रममा पत्रकारहरुले स्वास्थ्य सेवा सम्बन्धी विविध जिज्ञासा र जनगुनासो प्रस्तुत गरेका थिए ।
नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लास्थित मेडिकल तथा फार्मेसीमा विशेषज्ञ डाक्टरको नाममा शिविर सञ्चालन गरि अनावश्यक औषधि दिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराए ।
साथै, उनले सटिक र समयमै जानकारी प्रवाह गर्न मिडियाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गरे ।
स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउदले इन्टरनेशनल ब्रान्डेड औषधिको तुलनामा स्वदेशी औषधि केही कमजोर देखिए पनि त्यसलाई गुणस्तरहीन भन्न नमिल्ने स्पष्ट पारे ।
उनले औषधिको गुणस्तर परीक्षण आफैंले गर्न नसकिने भन्दै मिडियाले यस्ता विषयमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले मिडियालाई जनस्वास्थ्य प्रवर्द्धनको सशक्त माध्यमका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै भने, “समुदायमा सकारात्मक सन्देश फैलाउन सञ्चारकर्मीको सहयोग अनिवार्य रहेको छ । यस्ता कार्यक्रमहरूले समन्वयलाई थप मजबुत बनाउँ पर्नैमा जोडदिए छन ।”
कार्यक्रममा सञ्चार र स्वास्थ्यको सहकार्य, सामाजिक उत्तरदायित्व र सूचना प्रवाहको सुदृढीकरणबारे जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो ।
स्वास्थ्य कार्यालय डडेल्धुराले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सञ्चारको भूमिकालाई अझ व्यवस्थित, समन्वयात्मक र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।