चाडपर्वलाई लक्षित गरी डडेल्धुरामा यात्रु सहायता कक्ष स्थापना

डडेल्धुरा । डडेल्धुरामा चाडपर्वलाई लक्षित गरी जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना गरेको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले रिबन काटेर उक्त कक्षको उद्घाटन गरेका हुन। यात्रु सहायता कक्ष बसपार्क बागबजार, स्याउले र तुफानडाँडामा स्थापना गरिएको छ।

यात्रुको सहजता र सुरक्षित यात्रालाई मध्यनजर गर्दै सम्भावित अपराध नियन्त्रण, यात्रु दुव्र्यवहार रोकथाम तथा गुनासो समाधान गर्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।
उनका अनुसार जिल्लाभित्रका साथै बाहिरबाट आउने सवारीसाधनमा यात्रुहरूलाई पर्न सक्ने समस्या समाधानमा सहायता कक्ष सक्रिय रहनेछ ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गौतमले चाडपर्वमा घर फर्कने यात्रुलाई कुनै असहजता नहोस् भन्दै सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरे।

उनका अनुसार, यस अभियानले यात्रुलाई ठग्ने, बढी भाडा लिने र अलपत्र पार्ने समस्यालाई न्यूनीकरण गर्नेछ।

 

Loading...