म्याग्दी । प्रशासनले झुलाउदा तिन वटा पालिकाको भवन निर्माण प्रभावित भएको नेकपा एमाले, म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले २०८३ साउन २६ गते बेनीमा जिल्ला समन्वय समितिले आयोजना गरेको संघ र प्रदेशका आयोजनाहरुको समिक्षा कार्यक्रममा प्रश्न उठाउनुभयो ।
प्रशासनिक प्रक्रिया र समन्वयको अभावका कारण म्याग्दीका तीन वटा स्थानीय तहका प्रशासनिक भवन निर्माण प्रभावित भएको अध्यक्ष सुवेदीले बताउनुभएको छ ।
मंगलबार बेनीमा जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको संघ र प्रदेशअन्तर्गत सञ्चालित विकास आयोजनाहरूको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले स्थानीय तहका भवन निर्माणजस्तो महत्वपूर्ण विषयमा सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्नेमा प्रशासनिक प्रक्रियामै अल्झाएर राखिएको गुनासो गर्नुभयो ।
उहाँले प्रशासनिक स्वीकृति तथा समन्वयमा भइरहेको ढिलाइका कारण तीन वटा पालिकाका भवन निर्माण प्रभावित भएको भन्दै यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने धारणा राख्नुभयो ।
स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधार निर्माणमा अनावश्यक ढिलाइ हुन नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष सुवेदीले विकास आयोजनाहरू कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो ।
विकास निर्माणका काममा देखिएका कानुनी, प्रशासनिक तथा प्रक्रियागत जटिलता समयमै समाधान गर्न सके मात्रै नागरिकले विकासको प्रत्यक्ष अनुभूति गर्न पाउने उहाँले उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समितिले आयोजना गरेको समीक्षा कार्यक्रममा जिल्लामा संघ र प्रदेश सरकारअन्तर्गत सञ्चालित विभिन्न विकास आयोजनाको प्रगति, समस्या तथा आगामी कार्ययोजनाका विषयमा छलफल गरिएको थियो । ।
कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
- Facebook Comments
- Comments