डडेल्धुरा । नेकपाका खगराज भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेश सरकारले बुधबार साँझ ५ बजे प्रदेशसभाको बैठकमा नयाँ बजेट पेश गर्ने तयारी गरेको हो ।
मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले बजेट प्रस्तुत गर्न साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको थियो। बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको प्रदेशसभाका सभामुख भीम भण्डारीले जानकारी दिएका छन ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो। तर उक्त बजेट प्रदेशसभाबाट पारित हुन नसकेपछि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो ।
बजेट पारित हुन नसकेपछि प्रदेशको राजनीतिक समीकरणसमेत परिवर्तन भएको थियो। त्यसपछि नेकपाका खगराज भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन ।
बजेट पारित नभए पनि प्रदेशमा राजस्व संकलनको काम भने रोकिएको थिएन। तर सरकारी खर्च सञ्चालनका लागि आवश्यक कानुनी आधार नहुँदा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो ।
बजेट शून्यताको असर प्रदेशका अस्पताल, विकास आयोजना कार्यान्वयन, सरकारी कार्यालय सञ्चालन तथा कर्मचारी र पदाधिकारीको तलब–भत्तालगायत क्षेत्रमा परेको थियो। लामो समयदेखि रोकिएको सरकारी खर्चको बाटो खोल्न प्रदेश सरकारले नयाँ बजेट प्रदेशसभामा पेश गर्न लागेको हो ।
प्रदेशसभाबाट बजेट पारित भएपछि मात्रै प्रदेश सरकारलाई चालु आर्थिक वर्षको नियमित खर्च सञ्चालन गर्ने कानुनी आधार प्राप्त हुनेछ ।
- Facebook Comments
- Comments