कैलाली प्राइम बैंकको १९औँ वार्षिकोत्सवमा ६३ जनाले गरे रक्तदान

धनगढी, असोज ७ । प्राइम बैंक लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिम प्रदेश, धनगढी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन ।


कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता प्राइम बैंकका प्रदेश–७ प्रमुख इन्द्रप्रसाद गुरागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्य सेवा संयोजक धर्मराज जोशी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका लेखापाल डम्बर भट्ट, सुदूरपश्चिम प्रदेश रक्तदान सद्भावना दूत दीपक उपाध्याय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा नम्बर १ का सभापति जितेन्द्र मग्राती अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।


रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले रक्तदान मानवीय सेवाको महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो ।


प्राइम बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ ।

कार्यक्रममा संकलित रक्तले आवश्यकता परेका बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

Loading...