डडेल्धुरा : डडेल्धुरामा खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने मासु व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अमरगढी नगरपालिका- ५ बस्ने ५३ वर्षीय मासु व्यवसायी विरबहादुर ऐरलाई प्रहरीले जेठ ३१ गते पक्राउ गरेको हो।
ऐर तुफान्डाँडामा रहेको स्वच्छ मासु उत्पादन केन्द्रमा बाख्राहरू काटी खसीको मासु भनी ब्रिकी गर्दै आएका थिए।
प्रहरी स्रोतका अनुसार उनले बाख्राको मासु खसीको भाउमा बिक्री गर्थे।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दिपककुमार कार्कीका अनुसार ३१ गते बिहान साढे ५ बजे प्रहरीले ऐरको मासु पसलमा छापा हानेको थियो।
उनले बाख्राको काटेदै गरेको मासु १५ किलो र टाउको काटी खुरक्याएको सिङगै १८ किलो चार सय ग्रामको बाख्रा फेला पारी बरामद गरिएको बताए।
ऐरलाई नियन्त्रणमा लिएर बरामद गरिएको मासु मुचुल्का उठाई नष्ट गरिएको छ भने उनीबिरुद्ध पशु बधशाला र मासु जाँच ऐन २०५५ को दफा १३ बमोजिम मिसावट गरि मासु बिक्री गर्न नहुने अन्तर्गत कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ। 
