डडेल्धुरा साउन ३० । डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–५, विद्युत रोडस्थित सन्त निरंकारी सत्संगत भवनमा आज मुक्ति पर्व दिवस विविध आध्यात्मिक कार्यक्रमसहित भव्यताका साथ मनाइँदैछ ।
मुक्ति पर्वको अवसरमा विभिन्न भजन, प्रवचन तथा सत्संग कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा निरंकारी मिसनका अनुयायीहरूको उल्लेख्य सहभागिता रहेको छ । सहभागीहरूले ‘मुक्ति पर्व’को आध्यात्मिक महत्व, निरंकारी सन्तहरूको योगदान तथा यस अवसरबाट प्राप्त हुने प्रेरणाका विषयमा आफ्ना विचार तथा धारणा व्यक्त गरिरहेका छन ।
निरंकारी मिसनका बाबा अवतार सिंह जी महाराजकी धर्मपत्नी, जगतमाताका रूपमा परिचित बुद्धवन्ती जीको सन् १९६४ अगस्ट १५ का दिन देहावसान भएको थियो ।
उहाँको योगदान, त्याग र आध्यात्मिक प्रेरणाको स्मरण गर्दै निरंकारी अनुयायीहरूले हरेक वर्ष अगस्ट १५ लाई ‘मुक्ति पर्व’का रूपमा मनाउँदै आएका छन ।
मुक्ति पर्वका अवसरमा डडेल्धुराको निरंकारी सत्संग भवनलगायत नेपालका विभिन्न जिल्लामा रहेका निरंकारी सत्संग भवनहरूमा समेत विशेष कार्यक्रम आयोजना भइरहेका छन । नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा रहेका निरंकारी अनुयायीहरूले पनि यस दिनलाई विशेष आध्यात्मिक पर्वका रूपमा मनाउने गरेका छन ।
सत्संग कार्यक्रममा महात्माहरूले संसारबाट निराकारमा ब्रह्मलीन भएका सन्तहरूको योगदान, त्याग र शिक्षाको स्मरण गर्दै मानव जीवनमा आध्यात्मिक ज्ञान, प्रेम, सद्भाव र सेवाको महत्वबारे प्रवचन दिइरहेका छन । सहभागीहरूले पनि दिवंगत सन्तहरूको आदर्श र शिक्षालाई आत्मसात गर्दै आध्यात्मिक मार्गमा अघि बढ्ने प्रेरणा लिइरहेका छन ।