कैलालीमा पाँच सय घर डुबानमा, एक हजार बढी घर प्रभावित

धनगढी : कैलालीका पाँच सय घर डुबानमा परेका छन। जिल्लामा दुई दिनसम्म परेको अविरल वर्षाका कारण पाँच सय घर डुबानमा परेका हुन। कैलारी गाउँपालिका र भजनी नगरपालिकाका घरहरूमा बाढीले बढी क्षति गरेको हो।

जिल्लामा वर्षाको पानीका कारण एक हजार सात सय जना प्रभावित भएका छन । उनीहरू घरको माथिल्लो तला, विद्यालय र वडा कार्यालयहरूमा बसेका जिल्ला प्रशासन कार्यालय, कैलालीले बताएको छ।

बुधवारदेखि अविरल परिरहेको वर्षाले कैललाीका सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घटेको छैन । बाढीले कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ । गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ ।

भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। कैलारी गाउँपालिकाको केही घर डुबान परेका छन । कैलारी– ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ ।

यसैबिच बुधवार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो। उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ। अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ।

Loading...