बैतडी । बैतडीमा टेलिकमको टावरमा तोडफोड गरिएको छ । अज्ञात समूहले सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको हो। स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको छ ।
टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको छ । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।
टावर क्षति भएको बारेमा जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए ।
स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ ।
घटना व्यक्ति अथवा समूह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।