बाढीपहिरोले अवरूद्ध भएका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै अवरुद्ध

काठमाडौँ। गत शुक्रवारदेखि अविरल बर्षाका कारण आएको बाढीपहिरोले अवरूद्ध भएका विभिन्न राजमार्गका १७ सडकखण्ड अझै सुचारु हुन सकेका छैनन ।

नेपाल प्रहरीकाअनुसार बाढीपहिरोले अवरूद्ध पारेका धेरै सडकखण्ड सञ्चालनमा आए पनि १७ वटा अझै सञ्चालनमा आउन सकेका छैनन्। अन्य सात सडकखण्ड एकतर्फी खुलाइएका छन ।

प्रहरीले आज साँझ सार्वजनिक गरेको सूचनाअनुसार दक्षिणकाली-सिस्नेरी, ललितपुरको लेले-टीकाभैरव, धनकुटाको राँके भेडेटार सडकखण्ड पूर्ण अवरूद्ध छ। यस्तै, बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी-मार्खु, भीमफेदी-कुलेखानी-फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड अवरूद्ध छन ।

मध्यपहाडी लोकमार्ग सुनामवेशी, अकरेभिर, बाह्रबीसे-तातोपानी, रामेछाप-सिन्धुली-खुरकोट, कालीगण्डकी करिडोर सालझण्डी-अर्घाखाँची-ढोरपाटन सडकखण्ड र पूर्वपश्चिम राजमार्गको मध्यविन्दु सडकखण्ड पनि अवरूद्ध रहेका प्रहरीले जनाएको छ ।

अवरूद्ध रहेका दाउन्ने, पृथ्वीराजमार्गको बन्दीपुर खण्ड, तनहुँ व्यास नगरपालिका, पाँचखाल हनुमानगढी केराघारी, पृथ्वी लोकमार्गको बेनीघाट खण्ड, सुनकोसी कमेरेडाँडालगायतका खण्ड एकतर्फी सञ्चालनमा ल्याइएका छन ।

एकतर्फी सडकमा दुईतर्फी यातायात सञ्चालन र अवरूद्ध सडक खुलाउने काम भइरहेको छ भने दाउन्नेमा भने आज राति बाटो बन्द गरेर थप काम गरिने जनाइएको छ।

Loading...