इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ।
इरानद्वारा ब्यालिस्टिक मिसाइल आक्रमणको सूचना पाएपछि इजरायलले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न भनेको छ। मानिसहरुलाई सुरक्षित बस्न देशैभरि चेतावनी घन्टी (साइरन) बजाइएको छ ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको र आफ्ना नागरिकलाई सुरक्षित राख्न सक्षम रहेको प्रतिक्रिया त्यहाँका सुरक्षा अधिकारीहरुले दिएको अल जजिराले उल्लेख गरेको छ। इरानको रिभोलुसनरी गार्ड्सले इजरायलमा मिसाइल आक्रमण हिजबुल्लाह प्रमुख हसन नसरल्लाह र यस वर्षको सुरुमा हमास नेता इस्माइल हनियाहको हत्याको प्रतिक्रियामा भएको बताएको छ ।
यसैबीच इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले हिजबुल्लाहविरुद्ध ‘सीमित, स्थानीय र लक्षित’ भूमि अपरेसन भनेको छ।यसलाई लेबनानी प्रधानमन्त्रीले आफ्नो देशको सबैभन्दा खतरनाक चरणमध्ये एक भनी टिप्पणी गरेका छन् र १० लाख मानिस विस्थापित भएको बताएका छन ।