डडेल्धुरा । नेपालीहरुको महान चाड दशैको सातौ दिन आज फुलपाती, घर–घरमा भित्र्याएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व डडेल्धुरामा पनि घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने चलन रहेको छ ।

यस्तै डडेल्धुरामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फूलपाती भित्र्याएका छन् । अर्जुनबाण गण दह व्यारेक डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेडक्वाटर डडेल्धुराले सयुक्त रुपमा जिल्ला सदरमुकामा रहेको टुडिखेलमा शास्त्रीय विधिअनुसार पूजा गर्दै आआफ्नो कार्यालयको दसैँ घरमा फूलपाती भित्र्याएका हुन ।