डडेल्धुरा । डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई प्रहरी द्धारा सार्वजनिक गरिएको छ । अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई सार्वजनिक गरेको हो ।
डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन । घटनास्थल निज टेक बहादुर ‘भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन ।’ डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन ।
स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन । तर डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए ।
१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिडेकी थिइन । ‘स्थानीय नै रहेका भण्डारीसंग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै रहेको डिएसपी श्रेष्ठले भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको डिएसपी श्रेष्ठले बताएका छन ।’
त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारीले फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ । ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ,’ डिएसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेका रहेछन । शव भने बजार छेउमै फालेर घर गएका रहेछन ।’ उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको छ ।