डोटीमा जंगली जनावरको सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किदा एक युवकको मृत्यु भएको छ । बिहीबार बडिकेदार गाउँपालिका–१ स्थित बर्छेन जंगलमा सिकार खेल्न गएका बेला भरूवा बन्दुक पड्किएर लाग्दा सोही गाउँपालिका–२ का २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।
बडिकेदार गाउँपालिका–१ रजेडाका ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक(एसपी) विनोद शर्माले जानकारी दिए।
उनका अनुसार दाँया छातीमा गोली लागेका सार्कीको घटनास्थलमा मृत्यु भएको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ। उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।