डोटीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, आठ घाइते

डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सुपप्र ०१ ००१ ज १४६४ नम्बरको जिप केआइसिंह गाउँपालिका–५ केदारगाउँमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पुर्‍याएको थियो ।

लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९ः३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताए । उक्त दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन ।

धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका हुन । घाइते हुनेहरूमा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ५० वर्षीया चनादेवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरादेवी चन्द, ४२ वर्षीया बिर्मादेवी चन्द छन ।

त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएकी छन ।

घाइतेहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ ।

Loading...