कञ्चनपुरको चुरे फेदीका वन क्षेत्रमा हात्तीको बथान, बस्तीमा त्रास

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान आइपुगेको छ । भारतीय दुधुवा नेसनल पार्कमा वर्षात्को पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष चुरे क्षेत्रका वनमा आइपुग्ने गर्दछ । यस वर्ष हात्तीको बथान अरू वर्षको तुलनामा चाँडै चुरे क्षेत्रमा पुगेको छ । हात्तीको बथान बस्ती नजिकैका वन क्षेत्रमा दैनिक देखापर्न थालेपछि सामुदायिक वनमा उपभोक्तलाई नजानका लागि सचेत गराउने कार्य भइरहेको छ ।

हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोक्ने कार्य भइरहेको वातावरण मध्यवर्ती सामुदायिक वनका  जोशीले बताए । उनका अनुसार वन क्षेत्रमा जान पूर्ण रूपमा निषेध गरिएको छ । “हात्तीको बथान सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खानका लागि पुग्ने गरेका छन्”, उनले भने, “उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गर्दै आएका छौँ ।” मानवीय क्षति हुन नदिनका लागि उपभोक्तालाई सचेत पार्ने कार्य भइरहेको उनले बताए ।

वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान जानका लागि रोक्ने कार्य गरिँदै आएको उनले बताए । दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जानका लागि सल्लाह दिने गरेको उनले बताए । कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ ।

विगत तीन वर्षदेखि हात्तीको बथानले बस्तीमा छिरेर मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ । किसानले धान नभित्र्याउँदासम्म हात्तीको बथान चुरे क्षेत्रका वनमा रहने गर्दछ । बर्सात् कम हुँदै गएपछि चुरे क्षेत्रबाट तलका बस्तीमा पुगेर धान, उखु, केरालगायतका बालीमा नोक्सानी पु¥याउने गर्दछ ।

हात्तीकै कारण विशेषगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले बालीनालीमा बढी क्षति व्यहोर्दै आएका छन । हात्तीलाई रोक्नका लागि मध्यवर्ती क्षेत्रका केही ठाउँमा ‘मेसवायर’ जडान गरिएको भए पनि हात्तीले त्यसलाई भत्काएर खानाको खोजीमा बस्तीमा प्रवेश गर्दै आएको छ ।

हात्तीकै कारण खेतबारी लगाएको अन्न भित्र्याउन नपाइने गरेका कारण सिमलफाँटाका अधिकांश बासिन्दा रोजीरोटीका लागि भारततर्फ लाग्ने गरेको उनको भनाइ छ । हात्ती नियन्त्रणका लागि वडादेखि नगरसम्म ध्यानाकर्षण गर्दै आए पनि सुनुवाइ हुन नसकेको गुनासो उनले गरे । हात्तीको बथान धानबाली किसानले भित्र्याई सकेपछि मात्रै दुधुवा नेसनल पार्कतर्फ लाग्ने गर्दछ। त्यसपछि गहुँबाली खेतमा हरियो हुन थालेपछि पुनः यी क्षेत्रमा फर्कने गर्दछ ।

Loading...