कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले यस वर्षको अट्वारी पर्वको सार्वजनिक बिदा संशोधन गरेको छ। यसअघि साउन २५ गते आइतबारका लागि तोकिएको बिदा अब भदौ ८ गते आइतबारका दिन बिदा हुनेछ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। अब प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा अट्वारी पर्वको सार्वजनिक बिदा भदौ ८ गते आइतबार हुनेछ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्ने निर्णय पनि गरेको छ। कार्यकारी समितिको प्रस्तावका आधारमा मन्त्रिपरिषद्ले सम्मेलन मंसिरको पहिलो साता गर्ने निर्णय लिएको हो। सम्मेलनको उद्देश्य प्रदेशमा लगानी प्रवर्द्धन गर्नु र दीगो विकासका अवसरहरू पहिचान गर्नु रहेको बताइएको छ।