वरिष्ठ साहित्यकार डा. पीताम्बर अवस्थीले शुरू गरेकाे नशामुक्ति अभियान कार्यक्रम श्री नवदुर्गा आ.वि. जुगेडा, धनगढीमा
धनगढी, साउन २२ विगत लामो समयदेखि भारतमा सामाजिक अभियन्ता एवम् वरिष्ठ साहित्यकार डा. पीताम्बर अवस्थीले शुरु गरेकाे नशामुक्ति अभियान कार्यक्रम श्री नवदुर्गा आ.वि. जुगेडा, धनगढीमा गरिएकाे छ ।
वरिष्ठ साहित्यकार डा. पीताम्बर अवस्थीले शुरु गर्नुभएको नशामुक्ति अभियानले भारतमा पुनर्जागरणको रूपमा प्रभाव पार्दै आएपछि नेपालमा पनि नशामुक्ति अभियानको आरम्भ कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्लाहरूमा पनि भैसकेको छ । युवा पिढीलाई समाजका गलत मनोवृत्ति भएका व्यक्तिहरूले लागू औषधिको कुलतमा फसाएर समाज , परिवार र देशलाई नै अधोगति तिर लगिरहेको भयावह अवस्थालाई मध्यनजर गरि थालिएको यो अभियान आज धनगढी उपमहानगरपालिका वडा नं. १२, जनकबस्ती जुगेडाको श्री नवदुर्गा आधारभूत विद्यालयमा पनि सम्पन्न भएकाे हाे ।
कार्यक्रममा विद्यालयकी शिक्षिका सिसा थापा , शिक्षक गणेश नेपाली र विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रम साना बालबालिका मार्फत अभिभावक सम्म लागू औषध दुर्व्यसन लगायत मदिरा, बिडी, चुरोट , तमाखु, सुर्ती , खैनी, गुट्खा लगायत कुनै पनि मद्यपान र धुम्रपान सेवन गर्नु हुदैन भन्ने संदेश पुर्याउने रहेको छ । मद्यपान, धुम्रपान र लागुऔषधले जिउज्यान , धन, सम्पत्ति र सामाजिक प्रतिष्ठा समेत नाश हुने भएकोले कुनै पनि व्यक्ती, समाज र देशले नशा र कुलत विरुद्ध सशक्त भै लाग्नुपर्ने आवस्यकता रहेको बताइएको थियो । चरित्रवान नागरिक निर्माण गर्न नशा र कुलत विरूद्ध धेरै यस्ता कार्यक्रम गर्नुपर्ने देखिएकोले विद्यालहरूमा यस्ता कार्यक्रमहरू गर्न थालिएको हो ।
कुलत र नशाका कारण समाजमा आपराधिक घटनाहरू हुने भएकोले कुनैपनी देशको सरकारले कडाभन्दा कडा कानुन बनाई लागू गर्नु पर्ने भनिएको थियो । कार्यक्रम अन्य विद्यालय र क्याम्पसहरूमा पनि संचालन गरिने बताइएको छ ।