डडेल्धुरा । डडेल्धुरामा १८औँ पुस्तकालय दिवसको अवसरमा आइतबार डडेल्धुरा सार्वजनिक पुस्तकालयको आयोजनामा जिल्लाको शैक्षिक लगानी र नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शैक्षिक क्षेत्रका विज्ञ, पालिका शिक्षा शाखा प्रमुख, निजी तथा सरकारी विद्यालयका प्रमुख, शिक्षक, सुरक्षाकर्मी, विद्यार्थी अभिभावक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । यस्तै जिल्लाको शैक्षिक क्षेत्रमा भइरहेको लगानी, त्यसबाट प्राप्त परिणाम तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख खडकबहादुर महताले पालिकाले गत आर्थिक वर्षमा गरेको लगनी खर्च तथा जिल्लाको समग्र शिक्षाको अवस्थाबारे जनकारी गराएका थिए । कार्यक्रमका अतिथिहरूले आफ्नो धारणा प्रस्तुत गर्दै शिक्षा समाज परिवर्तनको मूल आधार भएकाले यसमा हुने लगानीलाई दीर्घकालीन विकाससँग जोड्नुपर्नेमा जोड दिएका छन । उनीहरूले विद्यालयमा भौतिक संरचना सुधारसँगै गुणस्तरीय शिक्षा, अनुशासन, दक्ष शिक्षक र विद्यार्थीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन।
यसै अवसरमा जिल्लामा शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान गर्ने अजयमेरु गाउँपालिकाका शिक्षक तारादत पाण्डे, एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने समुदाय विद्यालय तर्फका सहश्रलिङ्ग मावि चमडाका हिमालकुमार ऐर, निजीतर्फका ग्रीनभ्याली बोर्डिङ स्कुलका आकृति पाण्डेलाई सम्मान गरेको छ। यसै कार्यक्रममा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने २ विद्यालयलाई समेत सम्मान गरेको छ। जसमा समुदायकतर्फ गन्यापधुरा गाउँपालिकाको जनता मावि सकायल भएको हो भने निजीतर्फ क्याम्ब्रिज पब्लिक स्कुल रहेको थियो। जसमा सम्मानले शिक्षाप्रति समर्पित व्यक्तिहरूलाई थप प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेका छन ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जिल्लामा शिक्षाको पहुँच विस्तार भएको तर गुणस्तरमा अझै चुनौती रहेको औल्याउँदै विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा दक्ष शिक्षकको कमी, सिकाइ परिणाममा देखिने कमजोरी, विद्यार्थीको स्थायी सहभागिता तथा स्रोतसाधनको अभावलाई समाधान गर्नेतर्फ सबै निकायले समान प्रयास गर्नुपर्नेमा जोड दिइएको छन । कार्यक्रममा लुःनिभा बाल सरोकार समूह र नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको सहयोग रहेको थियो भने व्यवस्थापन महेन्द्र मावि खलंगा डडेल्धुराले गरेको थियो ।
कार्यक्रमको समन्वय शिक्षा विकास तथा समन्वय ईकाई डडेल्धुराले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका समन्वय प्रमुख गगनसिंह भण्डारी थिए भने सभापतित्वमा डडेल्धुरा सार्वजनिक पुस्तकालयका अध्यक्ष गजेन्द्रबहादुर शाही रहेका थिए ।