धनगढी । मुख्यमन्त्री कमल बहादुर शाहले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न निर्देशन दिए।
बैठकमा आपराधिक गतिविधि नियन्त्रण, सडक दुर्घटना न्यूनीकरण र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन दिइयो ।
मुख्यमन्त्रीले बजारमा खाद्यान्नको सहज आपूर्ति, कालोबजारी नियन्त्रण र चोरी डकैती रोक्न सुरक्षा योजना बनाउन निर्देशन दिए ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दसैँ, तिहार र छठ जस्ता महत्त्वपूर्ण चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गर्न प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन ।
शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वको समयमा आपराधिक गतिविधि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै शान्ति सुरक्षाको तयारीमा जुट्न उनले सुरक्षा निकायलाई आग्रह गरे ।
समाजमा हुन सक्ने अवाञ्छित तथा आपराधिक क्रियाकलाप नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ सजग रहन उनले सुरक्षा निकायलाई निर्देशन दिए ।
बैठकमा हालै देशका विभिन्न ठाउँमा भएका घटनाहरूले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र विद्यमान अवस्थाबारे पनि छलफल भएको थियो । भदौ २३ र २४ गतेको घटनापछिको परिस्थितिलाई सामान्य बनाउँदै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरी र अन्य सरकारी निकायहरूले नागरिक समाज र पेसागत समूहहरूसँग मिलेर संवाद र सद्भावका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ ।
मुख्यमन्त्री शाहले चाडपर्वको समयमा हुन सक्ने विभिन्न समस्यालाई रोक्न ठोस कदम चाल्न निर्देशन दिएका छन् । उनका निर्देशनहरूमा बजारमा खाद्यान्नको सहज आपूर्ति गर्ने, कालोबजारी नियन्त्रण गर्ने तथा चोरी, डकैती र लुटपाटका घटनाहरूलाई रोक्न प्रभावकारी सुरक्षा योजना बनाउने रहेका छन ।
यस्तै, बजारमा मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट र म्याद नाघेका खाद्यवस्तुको बिक्री जस्ता अस्वाभाविक गतिविधि नियमन गर्न अनुगमनलाई प्रभावकारी बनाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।
सुदूरपश्चिमबाट भारत जाने मुख्य नाकाहरूमा चाडपर्वको बेला हुन सक्ने लुटपाटका घटनालाई नियन्त्रण गर्न र भारत आउने(जाने नागरिकलाई सहज बनाउन आवश्यक सहकार्य गर्न पनि मुख्यमन्त्रीले जोड दिएका छन् । उनले सुरक्षा निकायहरूलाई यात्रुमैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन ।