आगामी फागुन २१ को निर्वाचनका तयारी कागजी रुपमा धेरै अघि बढिसक्यो प्रमुख जिल्ला अधिकारी कोइराला

डडेल्धुरा । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले आगामी फागुन २१ को निर्वाचनको तयारी कागजी रुपमा धेरै अघि बढिसकेको बताएका छन । आइतबार पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा उनले
आगामी फागुन २१ को निर्वाचनको तयारी कागजी रुपमा धेरै अघि बढिसकेको बताएका छन । उनले जिल्लाको शान्ति–सुरक्षा, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन ।
जिल्लमा अमन–चयनलाई पहिलो प्राथमिकता दिने र प्रशासनले कुनै पनि रूपमै कमजोरी नदेखाउने सहसचिव कोइरालाले बताए । भोजपुर घर भएका कोइराला केही दिनअघि मात्रै डडेल्धुरामा सरुवा भई आएका हुन ।

उनले जिल्लामा देखिएका चुनौती, सुस्त सेवा प्रवाह, समन्वयको अभाव, लागूपदार्थको समस्या र आगामी फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै व्यापक सक्रियता देखाउने घोषणा गरे ।

यस्तै सात पहाडी जिल्ला जोड्ने भीमदत्त रजमार्गको अवस्था अत्यन्तै दयनीय रहेको उल्लेख गर्दै हाइवे मर्मतका लागि सम्बन्धित निकायसँग तत्काल समन्वय गरिने उनले स्पष्ट पारे ।

कार्यक्रममा पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले डडेल्धुरालाई व्यक्तिको हिसाबले ठूलो र भूगोलको हिसाबले सानो जिल्ला भएकाले प्रशासनले विशेष संवेदनशीलतासहित काम गर्नुपर्ने सुझाव दिए ।

‘सीडीओले राजनीतिक रंग नदिई भूमिकामा कडाइका साथ उभिन सके राम्रो परिणाम देखिन्छ ,’ उनले भने ।

सरकारी कार्यालय र स्थानीय तहले मिडियालाई बजेट नदिने, असारमै भुक्तानी दिने परम्पराले मिडिया हाउसहरू कमजोर बन्दै गएको विषय पनि उनले उठाए । प्रशासन–मिडिया समन्वय भएकै अवस्थामा पारदर्शितामा सुधार हुने सिंहको भनाइ थियो।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उत्तर बिष्टले डडेल्धुरालाई सात पहाडी जिल्लाको केन्द्रका रूपमा लिएर प्रशासन झनै जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।

चुनाव स्वच्छ, मर्यादित र भयरहित बनाउन सक्रिय भूमिका आवश्यक रहेको उनले बताए ।

डडेल्धुरा तराई नजिक रहेकाले लागूपदार्थको समस्या बढ्दै गएको र यसको न्यूनीकरणमा कडाइ जरुरी रहेको उनले उल्लेख गरे।

‘प्रशासनले सबै नागरिकलाई एउटै दृष्टिले हेर्न सक्नुपर्छ, दृष्टिकोण फरक पर्‍यो भने समस्या उत्पन्न हुन्छ,’ उनले भने।

सूचनाको युगमा जानकारी समयमै उपलब्ध गराउने वातावरण प्रशासनले बनाउनु पर्ने सुझाव पनि पत्रकारहरूले राखे ।

 

Loading...