नेपाली टोपी: हाम्रो पहिचान’-१३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइँदै

धनगढी। विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नारासहित विगत १३ वर्षदेखि युवाहरूले यस दिवसलाई निरन्तर रूपमा मनाउँदै आएका हुन ।

नेपाली पहिचान झल्काउने दौरा–सुरुवाल, टोपी तथा गुन्यु–चोलीलाई विशेषगरी युवापुस्तामाझ स्थापित गर्ने उद्देश्यले विसं २०७० देखि राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाउन थालिएको हो। यस दिवसका अवसरमा सर्वसाधारण, कलाकार, विद्यार्थी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूले राष्ट्रिय पोसाक लगाएर सहभागीता जनाएका छन।

धेरैले राष्ट्रिय पोसाकमा सजिएको तस्बिर सामाजिक सञ्जालमार्फत साझा गर्दै नेपाली संस्कृतिप्रति गर्व व्यक्त गरेका छन्। जनवरी १ तारिखका दिन नियमित रूपमा मनाइँदै आएको यस दिवसले राष्ट्रिय पोसाकको संरक्षण, प्रवर्द्धन र पुनर्जागरणमा उल्लेखनीय योगदान पुगेको आयोजकहरूको भनाइ छ।

विगतमा औपचारिक रूपमा राष्ट्रिय पोसाकको प्रयोगको प्रचलन हटेपछि युवाहरूले स्वस्फूर्त रूपमा अभियानको थालनी गरेका थिए। यस अवसरमा आज राजधानी काठमाडौँका विभिन्न स्थानमा झाँकी, सांस्कृतिक कार्यक्रम तथा सचेतनामूलक गतिविधिहरू आयोजना गरिएको छ।

Loading...