काठमाडौँ । तीन पूर्व प्रधानमन्त्रीको सम्पत्तिमाथि अनुसन्धान गर्न थालिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा प्रहरीले पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले त्यसबारे अनुसन्धान अघि बढाएको गृह मन्त्रालयस्रोतले जनाएको छ।
प्रहरीले पूर्व प्रधानमन्त्रीहरूको चल, अचल सम्पत्ति र आम्दानीको स्रोत लगायतको विषयमा अनुसन्धान गर्नेछ । भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो ।
पूर्वमन्त्री दिपक खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो । खड्कालाई आज बिहान प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिदैंछ ।
अनुसन्धानको लागि स्थानीय प्रशासनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदैछ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा भत्काउन रोक लगाइएको हो ।
भवन भत्काउन रोक लगाएर प्रहरीले त्यहाँ कार्यरत कामदार हटाएको छ । भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम सङ्कलन गरेर राखेको थियो ।