डडेल्धुरा- आलिताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राखेर बजेट ल्याइए पनि चालु आर्थिक वर्षको आय–व्यय विवरणले कार्यान्वयन पक्षमा चुनौती रहेको देखाएको छ।
गाउँपालिकाको २३औँ गाउँसभामा उपाध्यक्ष मैनाकुमारी रावल बोहराले बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ‘विकासमा सहभागिता, परिणाममा जवाफदेहिता’ भन्ने मूल मन्त्रसहित समृद्ध र आत्मनिर्भर आलिताल निर्माणको लक्ष्य लिइएको बताइन्।
उनका अनुसार जलवायु परिवर्तन, युवा पलायन, घट्दो उत्पादनशीलतालगायतका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने गरी आगामी वर्षका नीति तथा कार्यक्रम तय गरिएको छ। बजेट कार्यान्वयनका लागि आन्तरिक स्रोत, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटलाई प्रमुख आधार बनाइएको छ।
गाउँपालिकाले आगामी वर्ष आन्तरिक स्रोतबाट मात्रै १ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। तर चालु आर्थिक वर्षको अवस्था हेर्दा उक्त लक्ष्य प्राप्ति सहज देखिएको छैन।
चालु आर्थिक वर्ष २०८२/८३ मा ५३ करोड ६६ लाख १० हजार रुपैयाँको संशोधित बजेट रहेकामा जेठ मसान्तसम्म ४१ करोड ६६ लाख १० हजार रुपैयाँ आम्दानी भएको छ। यो कुल बजेटको ७७ दशमलव ६३ प्रतिशत हो।
खर्चतर्फको प्रगति भने अपेक्षाकृत कमजोर देखिएको छ। जेठ मसान्तसम्म कुल ३३ करोड ८९ लाख ४६ हजार रुपैयाँ मात्रै खर्च भएको छ, जुन कुल बजेटको ६३ दशमलव १६ प्रतिशत बराबर हो।
आन्तरिक राजस्व संकलनको अवस्था पनि सन्तोषजनक छैन। ९८ लाख ६९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ३६ लाख ८४ हजार रुपैयाँ मात्रै उठेको छ। लक्ष्यको तुलनामा राजस्व संकलन निकै कम हुँदा गाउँपालिकाको वित्तीय व्यवस्थापनमा दबाब परेको देखिन्छ।
यस्तै प्रदेश सरकारबाट प्राप्त हुने अपेक्षित अनुदानसमेत पूर्ण रूपमा नआउँदा विभिन्न विकास कार्यक्रमको कार्यान्वयन प्रभावित भएको गाउँपालिकाको निष्कर्ष छ।
यही अवस्थालाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयन क्षमता अभिवृद्धि, आन्तरिक राजस्व परिचालन सुदृढीकरण तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनलाई विशेष प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ। स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै विकासका प्रतिफल नागरिकसम्म पुर्याउने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाको दाबी छ।