प्राविधिक समस्या समाधानपछि डडेल्धुरा अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा प्राविधिक समस्याका कारण केही समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। अस्पतालले आवश्यक प्राविधिक मर्मत गरेपछि सेवा सुचारु गरिएको अस्पतालले जनाएको छ। अस्पतालले सूचना जारी गर्दै सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको जानकारी गराएको छ ।

सिटी स्क्यान सेवा बन्द हुँदा डडेल्धुरा लगायत सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट उपचारका लागि आउने बिरामी प्रभावित भएका थिए । जटिल रोगको पहिचान तथा आकस्मिक अवस्थाका बिरामीको उपचारमा सिटी स्क्यान महत्वपूर्ण हुने भएकाले सेवा अवरुद्ध हुँदा सेवाग्राहीले तराईका जिल्ला जानुपर्ने बाध्यता रहेको थियो ।

अस्पतालका अनुसार सेवा पुनः सञ्चालनसँगै मस्तिष्क, छाती, पेट तथा अन्य जटिल स्वास्थ्य समस्याको परीक्षण सहज हुने भएको छ । यसबाट बिरामीले  छिटो र सहज रूपमा सेवा प्राप्त गर्न सक्नेछन ।

डडेल्धुरा अस्पताल सुदूरपश्चिम प्रदेशकै एक मात्र संघीय अस्पताल हो यहाँबाट डडेल्धुरा, बैतडी, डोटी, अछाम, बझाङ, दार्चुला लगायतका जिल्लाका नागरिकले स्वास्थ्य सेवा लिँदै आएका छन । सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएपछि सेवाग्राहीलाई राहत मिल्ने विश्वास गरिएको छ।

 

Loading...