देशभर रासायनिक मलको अभाव, वितरण प्रभावकारी नभएको सांसद बोध नारायण श्रेष्ठको गुनासो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोध नारायण श्रेष्ठले देशभरका किसानले रासायनिक मलको अभाव झेलिरहेको बताएका छन ।
धादिङ जिल्लामा रासायनिक मलको समस्या सम्बन्धमा प्रमुख जिल्ला अधिकारीहरूसँग भएको छलफलमा बोल्दै सांसद श्रेष्ठले मल वितरण प्रभावकारी हुन नसकेको भन्दै किसानबाट व्यापक गुनासो आएको जानकारी दिए । उनका अनुसार मल वितरणमा पक्षपात भएको, पहुँच र आफन्तका आधारमा मात्रै मल वितरण गरिएको भन्ने गुनासो किसानहरूले गरेका छन ।
सांसद श्रेष्ठले देशभर आवश्यकता अनुसार मल आपूर्ति हुन नसकेको बताए । उनका अनुसार धान खेतीका लागि आवश्यक २३ हजार ५२ मेट्रिक टन मलमध्ये हालसम्म करिब २७ प्रतिशत मात्रै वितरण भएको छ । प्रदेश सरकारले तोकेको सीमित कोटाअनुसार मात्र मल उपलब्ध हुँदा किसानले ठूलो समस्या भोग्नुपरेको उनको भनाइ छ ।
उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी देशभर समयमै र व्यवस्थित रूपमा मल ढुवानी तथा वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।
सांसद श्रेष्ठले मल खरिद तथा वितरण प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने स्पष्ट जानकारीसमेत सम्बन्धित निकायसँग नभएको गुनासो गरेका छन । साथै, किसानका समस्याबारे जिल्ला प्रशासन, कृषि विकास तथा समन्वय कार्यालयहरू र सम्बन्धित निर्वाचन क्षेत्रका सांसदहरू समेत पूर्ण रूपमा जानकार हुनुपर्नेमा उनले जोड दिए ।
किसानलाई समयमै पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन सबै सरोकारवाला निकायले समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको सांसद श्रेष्ठले बताएका छन ।

Loading...