डडेल्धुरा । भागेश्वर गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमकाे अवसरमा शिक्षा, साहित्य, कला, संस्कृति, संगीत तथा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ६ जना व्यक्तित्वलाई एन्डी प्रकाश चटौत बहुप्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
पुरस्कार अन्तर्गत शिक्षा विधाबाट हिक्मत ठाकुर र अनिरुद्रप्रसाद जोशी, साहित्य, कला, संस्कृति तथा संगीत विधाबाट आरडी प्रकाश चटौत र कैलाश कुमार पाण्डेय तथा पत्रकारिता विधाबाट डीआर पन्त र छत्र साउद सम्मानित भएका हुन ।
सम्मानित व्यक्तित्वहरूलाई जनही रु. ४० हजार नगद,र सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमराज चटौतले पुरस्कार वितरण गर्दै शिक्षा, साहित्य, कला, संस्कृति, संगीत र पत्रकारिताले समाजलाई सही दिशा दिन तथा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । यस्ता सम्मानले सम्बन्धित क्षेत्रमा समर्पित व्यक्तित्वहरूको योगदानको कदर हुनुका साथै नयाँ पुस्तालाई पनि सिर्जनात्मक र जिम्मेवार कार्यमा प्रेरित गर्ने विश्वास अध्यक्ष चटाैतले गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, शिक्षक, पत्रकार, बुद्धिजीवी तथा स्थानीय सर्वसाधारणहरुकाे उल्लेखिय सहभागिता रहेको थियो ।
भागेश्वर गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मान गर्ने परम्परालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिभाहरूको उचित कदर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
- Facebook Comments
- Comments