अजयमेरु गाउँपालिकाद्वारा ज्योतिषाचार्य गणेश प्रसाद पन्त सम्मानित, जातीय समानता र सामाजिक रूपान्तरण अभियानलाई उच्च सम्मान
डडेल्धुरा । अजयमेरु गाउँपालिकाले वैदिक सनातन धर्मभित्र जातीय समानता, सामाजिक समभाव र सामाजिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदर गर्दै प्रख्यात विद्वान ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्तलाई विशेष सम्मान गरेको छ ।
गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, गाउँपालिकाका कर्मचारी, वडा सचिव, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
करीब २७ वर्षदेखि दलित समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्मका वैदिक सनातन धर्मका सम्पूर्ण कर्मकाण्ड सम्पन्न गर्दै जातीय समानता, सामाजिक सद्भाव, सामाजिक सशक्तीकरण तथा वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको योगदानको उच्च मूल्यांकन गर्दै पण्डित गणेश प्रसाद पन्तलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा वक्ताहरूले पन्तले समाजमा विद्यमान जातीय विभेद अन्त्यका लागि पुर्याएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँको अभियानले सामाजिक एकता, धार्मिक सहिष्णुता र मानवीय समानताको सन्देश प्रवाह गरेको बताए ।
सम्मानित ज्योतिषाचार्य गणेश प्रसाद पन्तले आफुलाई सम्मान गर्ने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबै सरोकारवालाप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन ।
उनले यो सम्मानले समाज रूपान्तरणको अभियानलाई अझ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै जातीय समानताको सन्देश समाजका सबै तहसम्म पुग्ने अपेक्षा पनि व्यक्त गरेका छन्। समाजमा अझै विद्यमान जातीय विभेदजस्ता सामाजिक विकृतिको अन्त्य गरी समानता, सम्मान र मानवीय मूल्य स्थापित गर्न सबै नागरिकले सकारात्मक सोच र व्यवहार अपनाउनुपर्ने आवश्यकता औंल्याइएका छन ।
कार्यक्रमका सहभागीहरूले जातीय विभेदमुक्त, समतामूलक र सभ्य समाज निर्माणका लागि यस्ता अभियान र सम्मान कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।