दलित समुदायका लागि २७ वर्षदेखि वैदिक कर्मकाण्ड सम्पन्न गर्दै आएका ज्योतिषाचार्य गणेश प्रसाद पन्त सम्मानित
डडेल्धुरा । करिब २७ वर्षदेखि दलित समुदायका लागि जन्मदेखि मृत्युसम्मका सम्पूर्ण वैदिक कर्मकाण्ड निस्वार्थ रूपमा सम्पन्न गर्दै वैदिक सनातन धर्मको संरक्षण, सामाजिक सद्भाव तथा जातीय विभेदरहित समाज निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएका ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकार सम्मानित भएका छन ।

अजयमेरु गाउँपालिकाले उहाँले लामो समयदेखि पुर्याउँदै आउनुभएको सामाजिक, धार्मिक तथा मानवीय योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष सम्मान प्रदान गरेको हो । गाउँपालिकाले ज्योतिषाचार्य पन्तले जातीय विभेदको अन्त्य, सामाजिक एकता र समावेशी समाज निर्माणका लागि पुर्याउनुभएको योगदान प्रेरणादायी रहेको बताएकाे छ ।
उहाँले दलित समुदायका लागि कुनै भेदभाव नगरी जन्मदेखि मृत्युसम्मका वैदिक संस्कार सम्पन्न गर्दै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै ज्योतिषाचार्य पन्तले समाजमा सबै नागरिक समान रहेको सन्देश व्यवहारमार्फत स्थापित गर्न आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जातीय विभेदरहित, समतामूलक र सहिष्णु समाज निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।
गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पूर्ण वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, गाउँपालिकाका कर्मचारी, वडा सचिव, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकारलाई सम्मान गरेसंगै समाजमा समानता, सद्भाव र मानवताको भावना अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
यस्ता सम्मानले समाज परिवर्तनका लागि निस्वार्थ रूपमा कार्यरत व्यक्तित्वहरूलाई थप उत्साह, ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। ।