महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

काठमाडौं । धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रूपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ यतिबेला काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन ।
महाभारतको युद्ध समाप्त भएपछि उत्पन्न सामाजिक, राजनीतिक तथा मानवीय संकट, शून्यता र नैतिक द्वन्द्वलाई नाटकले मुख्य विषय बनाएको छ ।  महाभारतको कथालाई आधार बनाएर समकालीन समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध, नैतिक संकट र मानवीय जिम्मेवारीका प्रश्नलाई नाटकमार्फत प्रस्तुत गरिएको निर्देशक खतिवडाले बताए ।


करिब ११ वर्षअघि यही नाटकमार्फत अभिनय यात्रामा प्रवेश गरेका खतिवडा अहिले भने निर्देशकका रूपमा ‘द एज अफ डार्कनेस’ लिएर मञ्चमा फर्किएका छन्। त्यसबेला कलाकारका रूपमा प्रस्तुत भएको नाटकलाई अहिले समय, समाज र समकालीन दर्शकसँग जोड्दै नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरिएको उनकाे  भनाई छ ।


मण्डला थिएटरको प्रस्तुतिमा रहेको नाटकले युद्धपछि समाप्त नहुने हिंसा र प्रतिशोधको चक्र, सत्ताको संघर्ष, नैतिक द्वन्द्व तथा मानवीय जिम्मेवारीका विषयलाई उठाएको छ । युद्धमा विजेता र पराजित दुवै पक्षले भोग्नुपरेको मानसिक, सामाजिक र मानवीय प्रभावलाई नाटकले उजागर गर्ने प्रयास गरेको छ ।

नाटकमा सबिना चौधरी, कमल रेग्मी, राजाराम गौतम, जिनलव दोर्जे वम्जन, आभूषण घिमिरे, मिलन पन्त, इन्द्रकुमार लिम्बु, जोहेब शाह, सुजित मल्ल ठकुरी, सामना राई, विजय दोङ, सौगन श्रेष्ठ, राजु श्रेष्ठ, नित्य पौडेल, विश्वजित ढकाल, मनुमित लेप्चा, घमन शाही, आरती बरुवाल, सुनिता राई, कुमार लामा, सुरेन्द्र विश्वकर्मा, सुजाता राई, अभिषेक खतिवडा, सम्पदा लकान्द्री र सुजल कोइरालाले अभिनय गरेका छन ।

नाटकको संगीततर्फ सौरभ चालिसे, सलिना विक, जीवन राई र कुमार लामाको योगदान रहेको छ ।
‘द एज अफ डार्कनेस’ आगामी भदौ १४ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ ।

Loading...