काठमाडौं । चीनले नेपाललाई आपत्कालीन राहत सामग्री सहयोग गरेको छ । चीनको जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० ठूला यातायात विमानमार्फत १३ हजार २ सय थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको हो ।

अगस्ट ३०, २०२६ का दिन स्थानीय समयअनुसार बिहान करिब ७ बजे चिनियाँ सहायता सामग्री बोकेका दुईवटा वाई–२० विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानसँगै उद्धार उपकरणसहित चार जना चिनियाँ सुरुङ उद्धार विज्ञसमेत नेपाल आइपुगेका छन ।

राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत महामहिम झाङ माओमिङ, नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन तथा संघीय संसद् प्रतिनिधिसभाका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । कार्यक्रममा चिनियाँ उद्धार विज्ञहरूलाई समेत स्वागत गरिएको थियो।
चिनियाँ पक्षका अनुसार दुवै यातायात विमान चीनको चेङ्दु शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।

करिब तीन घण्टाको उडानपछि विमान काठमाडौं आइपुगेका हुन ।
नेपाल ल्याइएका राहत सामग्रीमा पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक, प्राथमिक उपचार किटलगायतका अत्यावश्यक सामग्री रहेका छन्। ती सामग्रीको कुल तौल करिब ५० टन रहेको बताइएको छ ।

यसैगरी, चिनियाँ उद्धार विज्ञहरूले आवश्यकताअनुसार नेपालमा उद्धार तथा राहत कार्यमा प्राविधिक सहयोग गर्ने जनाइएको छ। विपद्का समयमा आवश्यक पर्ने आपत्कालीन सामग्री तथा विशेषज्ञ जनशक्तिसहित चीनले गरेको सहयोगले नेपालमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।