काठमाडौँ २० भदौ । काठमाडौ नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै ओशो तपोवनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १५ लाख ५१ हजार (१५,५१,०००/-) आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
तपोवनका संस्थापक, बोधिसत्व स्वामी आनन्द अरुणज्यूको नेतृत्वमा संन्यासीहरूको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

भेटघाटका क्रममा बोधिसत्व स्वामी आनन्द अरुणज्यूले विपत्तिको यस कठिन घडीमा तपोवन पूर्ण रूपमा बाढीपीडितहरूको साथमा रहेको बताउनुभयो। प्राकृतिक विपत्तिमा परी घर, जीविकोपार्जन र आफ्ना प्रियजन गुमाएका प्रभावित परिवारहरूप्रति करुणा र मानवीय संवेदना व्यक्त गर्दै उहाँले भन्नुभयो, “विपत्तिको समयमा करुणा केवल शब्दमा मात्र सीमित नरही सार्थक कर्ममा परिणत हुनुपर्छ। यो सहयोग हाम्रो साझा मानवता र सेवाभावको एक विनम्र प्रयास हो।”
भेटका क्रममा स्वामी आनन्द अरुणज्यूले अर्थमन्त्री वाग्लेलाई ओशोका पुस्तकहरु समेत प्रदान गर्नुभएको थियो ।