डडेल्धुरा अस्पतालको नेतृत्वमा नयाँ अनुहार, अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन ।
नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।
अध्यक्षको जिम्मेवारी सम्हालेसँगै पाण्डेको नेतृत्वमा डडेल्धुरा अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विद्यमान समस्या समाधान गर्ने तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकका लागि डडेल्धुरा अस्पताल महत्वपूर्ण स्वास्थ्य सेवा केन्द्रका रूपमा रहेको छ। डडेल्धुरासँगै बैतडी, डोटी, अछाम, बझाङलगायत जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने भएकाले अस्पतालको सेवा विस्तार र गुणस्तर सुधारलाई विशेष महत्वका साथ हेरिँदै आएको छ।
अस्पतालमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको उपलब्धता, आवश्यक उपकरण र औषधिको व्यवस्थापन, भौतिक पूर्वाधार विस्तार तथा बिरामीमैत्री सेवा प्रवाह नयाँ नेतृत्वका प्रमुख चुनौतीका रूपमा रहेका छन ।
नवनियुक्त अध्यक्ष पाण्डेले अस्पताल प्रशासन, चिकित्सक तथा स्वास्थ्यकर्मी, स्थानीय तह, प्रदेश तथा संघीय सरकारसहित अन्य सरोकारवाला निकायसँग समन्वय गर्दै अस्पतालको समग्र विकासमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
पाण्डेको नियुक्तिसँगै डडेल्धुरा अस्पताल विकास समितिले नयाँ नेतृत्व पाएको छ । अब नयाँ नेतृत्वले अस्पतालको सेवा सुधार, पूर्वाधार विकास तथा नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कस्तो कार्ययोजना अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

Loading...