मन्त्री खड्काद्वारा स्याउलेमा रिफ्रेस सेन्टर उद्घाटन

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा सवारी चालक, सहचालक र यात्रुहरूका लागि निर्माण गरिएको ‘रिफ्रेस सेन्टर’  उद्घाटन गरेकी छन ।

स्याउलेस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि निर्माण गरिएको उक्त केन्द्र प्रदेशका सात पहाडी जिल्लामा सवारी आवतजावतको प्रमुख प्रवेशद्वारमा पर्ने भएकाले यात्रुहरूका लागि अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले शान्ति सुरक्षालाई सुदृढ बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताइन । साथै, लागुऔषधको बढ्दो समस्या प्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय सरकारहरूलाई पनि थप जिम्मेवार बन्न आग्रह गरिन । यसैक्रममा, उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरालाई १०० थान लागुऔषध चेकजाँच किट हस्तान्तरण गरिन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक शुगन्ध श्रेष्ठका अनुसार, कैलालीको अत्तरियापछि यो दोस्रो रिफ्रेस सेन्टर हो। दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यो केन्द्र उपयोगी हुने उनको भनाइ छ।

Loading...