मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन ।
सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि विश्वासको मत लिने गरी तयारी गरेकाे हो।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका भट्टले विश्वासको मत लिएलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारीसमेत गरेका छन ।
हाल नेकपा (एमाले) का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।
मन्त्रिपरिषद् विस्तारका विषयमा नेकपा संसदीय दलका नेता एवं मुख्यमन्त्री भट्ट र नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीबीच संयुक्त छलफल भएको थियो । यसअघि प्रदेश संयोजक हरि चौधरी, नेतृ रञ्जिता श्रेष्ठ, इन्चार्ज जोशी र मुख्यमन्त्री भट्टबीच पनि विश्वासको मत र सरकार विस्तारबारे छलफल भएको थियो ।
सुदूरपश्चिम प्रदेश करिब एक महिनादेखि आंशिक बजेटको अवस्थामा रहेकाले सरकार विस्तारसँगै बजेट ल्याउने प्रक्रिया पनि तीव्र रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। सरकारलाई पूर्णता दिएपछि बजेटसम्बन्धी प्रक्रिया अगाडि बढाउने तयारीमा मुख्यमन्त्री भट्ट रहेको बताइएको छ।

Loading...