दसैँ-तिहारमा काठमाडौँबाट आठ लाखभन्दा बढी बाहिरिने अनुमान

काठमाडौँ, असोज १८ गते ।
दसैँ, तिहारलगायतका ठुला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप ह्वात्तै बढेको छ। यस वर्षको चाडपर्वमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ।

चाडपर्व मनाउन आ-आफ्नो स्थायी घर फर्किनेक्रम सुरु भएसँगै काठमाडौँका प्रमुख नयाँ तथा पुराना बसपार्क र उपत्यका बाहिरिने मुख्य नाकाहरूमा यात्रुको बाक्लो चहलपहल देखिन थालेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ। उहाँले भन्नुभयो, “चाडपर्वमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी यात्रु बाहिरिने अनुमान छ, जसलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्भावित भिड हुने नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।”

यस्तै, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौँलाले सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेसँगै नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी भइसकेको जानकारी दिनुभयो।

ठगी र बढी भाडा रोक्न कडा अनुगमन
चाडपर्वको समयमा हुने अत्यधिक चापलाई लक्षित गरी सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायहरूले अनुगमन तीव्र पारेका छन्। सार्वजनिक यातायातमा हुन सक्ने सम्भावित ठगी, तोकिएभन्दा बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु राख्ने तथा असुरक्षित यात्रालाई नियन्त्रण गर्न निगरानी बढाइने ट्राफिक प्रहरीले जनाएको छ।

यातायात व्यवसायी तथा ट्राफिक प्रहरीले यात्रुहरूलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन, तोकिएको भाडा मात्र तिर्न, अग्रिम रूपमा यात्राको व्यवस्था मिलाउन र यात्राका क्रममा सजगता अपनाउन विशेष आग्रह गरेका छन्।

Loading...