धनगढी: नेपाली काँग्रेस र नेकपा एमालेले केन्द्रमा नयाँ सत्ता समीकरण गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सरकार निर्माणका लागि पहिलो चरणको छलफल भएको छ ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मङ्गलवार छलफल भएको हो।
छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए ।
उनले छलफल केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिममा पनि काँग्रेस र एमाले मिलेर सरकार गठन गर्ने विषयमा कुराकानी भएको उनले बताए ।
केन्द्रमा भएको समझदारीअनुसार प्रदेशमा पनि सरकार गठनको प्रक्रिया थालिने भएको छ ।
सुदूरश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ ।