धनगढीमा थप १० किलोमिटर सडक उज्यालो

धनगढी । धनगढी उपमहानगर पालिकामा थप १० किलोमिटर सडक उज्यालो भएको छ । धनगढीको मुख्य सडक र सहिद गेट क्याम्पस चोक सडकमा स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो। आइतबार राति सामाजिक विकास मन्त्री मेघराज खड्काले स्मार्ट सडक बत्तीको उद्घाटन गरेका हुन ।

सहरी विकासले निर्माण गरेका सबै सडकमा सडक बत्ती जडान गरिएको हो। यो पटक ५५३ पोलमा स्मार्ट सडक बत्ती र १५ वटा हाइमास्ट लाइटको मन्त्री खड्काले स्वीच थिचेर उद्घाटन गरेका हुन । कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उप-प्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

संघीय सहरी विकास आयोजनाले उक्त सडक बत्ती जडान गरेको हो। कार्यक्रममा नगर उप-प्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई उज्यालो पार्ने काम उपमहानगरले गरिरहेको बताइन् । उनले सबै वडामा उज्यालो कार्यक्रम पुर्‍याउन उपमहानगरले आगामी दिनमा समेत काम गर्ने बताइन ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री खड्काले धनगढी उपमहानगरपालिकाले राम्रो काम गरिरहेको बताए। उनले स्थानीय सरकारले जनताका काम गर्न सके राम्रो प्रभाव पर्ने र प्रदेश सरकारले पनि जनमुखी काम गर्न उपमहानगरपालिकासँग मिलेर काम गर्ने बताए ।

धनगढीमा सह्रानीय काम भएका छन्। नगर प्रमुख इनोभेटिभ काम गर्दै आएका छन्, उनले भने, नयाँ काम गर्ने नगर प्रमुख हमालको स्वभावका कारण धनगढीमा राम्रो काम हुँदै गएको र प्रदेश सरकारले पनि विभिन्न काममा सहकार्य गर्दै आएको छ, अझै पनि गर्नेछ।

यसअघि धनगढी उपमहानगरपालिकाको ६ लेन सडक र क्याम्पस चोक-मनेहरा सडक खण्डको जनआवाज चोकसम्म स्मार्ट सडक बत्ती बालिएको छ। अहिले सहरी विकास आयोजनाले निर्माण गरेका सडकहरूमा स्मार्ट सडक बत्ती जडान गरिएको हो।

 

Loading...