धनगढी । सामाजिक संस्था हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेश शाखाले धनगढीको मानव सेवा आश्रममा आश्रितहरूलाई सहयोग गर्दै वार्षिकोत्सव मनाएको छ ।

हेप्पिनेसले शुक्रबार आश्रममा आश्रित सडक मानव महिला, पुरुष तथा बालबालिकाको सहयोगार्थ खाद्यान्न लगायतका सामाग्रीहरु हस्तान्तरण गर्दै नवौं वार्षिकोत्सव मनाएको हो ।

मानव सेवा आश्रममा हेल्प फर हेप्पिनेसका सुदूरपश्चिम प्रदेश संयोजक घनश्याम भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाल रहेका थिए ।

मानव सेवा आश्रम कैलालीका संयोजक लोकेन्द्र शाह, आश्रमका अभिभावक संयोजक सिद्धराज पनेरु, बिरेन्द्र बोहोरा, सीता लामा, दिलेन्द्रप्रसाद जोशी, चन्द्रबहादुर सिरमाल लगायत अतिथि रहेका थिए ।

संस्थाका सदस्य केशव पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाकि सदस्य दिपा देउवाले स्वागत मन्तव्य राखेकी थिइन् । संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक भण्डारीले मानव सेवा आश्रममा रहेका आश्रीतहरुको लागि खाद्यान्न लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको बताए ।
भण्डारीले विगतदेखि संस्थाले खुला आकाशमुनी रात विताउन विवश, वेसहारा,स्वयं आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर,जीवन नै जोखिमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्दार, औषधोपचार, पालन पोषण, मानवोचित व्यवस्थापनको लागि र रक्षाको लागि खुसी नपुगेको ठाउँमा खुसी पु¥याउने उदेश्यअनुसार काम गरिरहेको बताए ।
उनले हेप्पीनेसले सबैको साथ, सहयोगले नै नवौं बसन्त पूरा गरेको बताउँदै अगामी दिनमा पनि सबै क्षेत्रबाट सहयोग पाउने अपेक्षा राख्दै साथ, सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन ।
मानव सेवा आश्रमका संयोजक ढकालसहितका चार जनालाई सम्मान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेसले मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक आदर्श ढकालसहितका चार जनालाई सम्मान गरेको छ ।
सडक मानवहरूलाई आश्रय दिएर भौतिकताले थिचिएको वर्तमान समयमा हराउदै गएको मानवतालाई हृदयवैद्य बनाइ मानविय संवेदनाको रक्षार्थ अनाथ असहायहरुको सेवामा अग्रपंक्तिमा रहेर समाज र रास्ट्र लाई नै महत्त्वपूर्ण योगदान गरेको भन्दै सम्मान र प्रशंसा पत्रसहित ढाकललाई सम्मान गरिएको हो ।
यस्तै, वर्षभरिमा संस्थामा सर्वाेत्कृष्ट कार्य गरेको भन्दै एच एफ एच सुदूर पश्चिमका सदस्य कस्मिर साउद, दिपा देउवा र लोचन भट्ट लाई प्रशंसा पत्र सहित सम्मान गरेको छ। हेप्पिनेसकै सदस्य कमल पनेरु लाई पनि वर्ष भरिमा सबै भन्दा बढी इमर्जेन्सी रक्तदान गर्ने र रगत ब्यबस्थापन गर्ने सदस्यको रुपमा प्रशंसा पत्र सहित सम्मान गरिएको हेप्पिनेसले जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै मानव सेवा आश्रमका सुदूरपश्चिम संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि आदर्श ढकालले हेल्प फर हेप्पिनेसले समाजमा गरेका उदारीकरण कार्यहरुको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आश्रममा सहयोगको अपेक्षा राखेका थिए ।
वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक, १६२ पिन्ट रक्तदान
वार्षिकोत्सवको अवसरमा हेल्प फर हेप्पिनेस सुदूरपश्चिमले वर्षभरी सम्पादन गरेका कामको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ । संस्थाका प्रदेश संयोजक घनश्याम भण्डारीले मानव सेवा आश्रममा आयोजित औपचारिक कार्यक्रमबीच वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । भण्डारीले एक वर्षको अवधीमा प्रदेशका विभिन्न अस्पतालमा १२८ जना बिरामीका लागि ९७ पिन्ट इमर्जेन्सी रगत व्यवस्थापन गर्दै दान गरिएको बताए ।
उनकाअनुसार इमर्जेन्सीको ९७ सहित वर्षभरि १६२पिन्ट दान गरिएको छ ।
रक्तदान जीवनदानको नारालाई सफल बनाउन केही हदसम्म सफल भएको बताउँदै उनले अगामी दिनमा समेत निरन्तरता दिइने जनाए ।
स्वास्थ, शिक्षा, ट्राफिक नियम लगायतका सामाजिक र राष्ट्रिय महत्त्वका विषयमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ ।छाडा पशु चौपायाको निःशुल्क औषधी उपचार गर्ने कार्यक्रममा निरन्तरता दिदै विभिन्न आपतकालीन अवस्थाका बिरामी पशुहरुको निःशुल्क उपचार गरिएको छ ।
६ जना बिरामीको उपचारमा सहयोग गरिएको,डिप्रेसनका सिकार भएका ६ जनालाई काउन्सिलिङ गरेर मानसिक स्वास्थ सेवा दिएको भण्डारी सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।ब्यक्तिको आर्थिक अवस्था हेरेर निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको, कृषि, पशुपालन, नर्सरी, पोल्ट्री फार्म सम्बन्धि किसानहरुको क्षमता अभिबृद्दी सम्बन्धि कार्यक्रमहरुलाई निरन्तरता दिदै कृषकहरुको जिवनस्तर उकास्नमा सहयोग गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिएको, बेवारिसे अवस्थामा भेटीएका व्यक्तिहरुको उद्दार गरि विभिन्न संस्थाहरुको समन्वयमा उनिहरुको लालनपालन र निगरानीमा राख्ने तथा सम्बन्धित व्यक्तिको अभिभावक सङ्घ पुनः मिलन गराउने,गरिव जेहन्दार तथा उत्कृष्ट विद्यार्थीहरुको लागि ’एच.एफ. एच छात्रवृत्ति अन्तर्गत छात्रवृत्ति प्रादान गर्ने,स्वास्थ सेवा सुधारका लागि खबरदारी गर्ने, सरोकारवालालाई सल्लाह सुझाव दिने कामलाई समेत निरन्तरता दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रममा हेल्प फर हेप्पिनेस सुदूरपश्चिम प्रदेशका सह संयोजक प्रियंका अग्रवाल,आपतकालीन असहाय सहयोग कोषका संयोजक भरत बिस्ट लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।