डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका वडा नम्मर २ का पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । सोमबार जिल्ला बिपद ब्यवस्थापन समितिले पहिरो प्रभावित परिवारलाई राहत बितरण गरिएको हो ।
गएको साउन ३२ गते परेको अविरल वर्षा संगै आएको पहिरोले प्रभावित बनेकी गन्यापधुरा गाउँपालिका –२ की मुन्नी देबी भण्डारीलाई रु. १५ हजार राहत स्वरुप उपलब्ध गराइएको छ । यस्तै भदौ २८ गते आएको पहिरोले गन्यापधुरा –२ बस्ने ईश्वरीदेवी पाल र देब बहादुर देउवाको घर पुर्ण रुपमा क्षती भएकाले उनीहरुलाई रु.२०÷२० हजारका दरले राहत उपलब्ध गराइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
संगै बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराले पनि प्रभावित भएका परिवारलाई सहयोग गरेको छ । उसले प्रतिपरिवार २५ किलो चामल, दुई लिटर तेल, चार किलो दाल, दुई किलो चिनी र १ किलो नुन सहयोग गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।
यस्तै,गन्यापधुरा गाउँपालिका–२ का वडा अध्यक्ष मनोज बहादुर देउवाले चाँडपर्वको बेला प्रभावितहरुलाई मिलेको राहतले उनीहरुलाई ठूलो सहयोग मिलेको बताए । वडामा अझ कतिपय नागरिक बाढीपहिरोले प्रभावित बनेकाले उनीहरुलाई पनि राहत दिने प्रकृयामा रहेको देउवाले बताए ।