काठमाडौं । नेकपा एमाले बाट केही दिन अगाडि निष्कासनमा परेका नेता डा. भीम रावलले आज (बुधबार) नयाँ अभियान घोषणा गर्दैछन । उनले आज दिउसो १ बजे काठमाडौंको कार्की ब्याङ्वेटमा पत्रकार सम्मेलन आयोजना गरेका छन ।
रावलले गैर कम्युनिष्ट र राष्ट्रवादी पार्टी घोषणा गर्ने बताएका छन । पत्रकार सम्मेलन गरे पछि पूर्वउपप्रधानमन्त्री रावल देशदौडाहामा निस्कने र झापा बाटै ७७ जिल्ला पुग्ने योजना छ । माघ अन्तिम अथवा फागुन सम्म पुग्दा पार्टी घोषणा हुनसक्ने बताइएको छ ।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्य समेत बाट हटाउने निर्णय गरेको थियो ।
व्यापारी मीनबहादुर गुरुङले जग्गा सहित पार्टी कार्यालय बनाइदिने विषयमा फरकमत राखेकै कारण रावललाई सचिवालय बैठकले संगठित सदस्य बाटै निष्कासन गर्ने निर्णय लिएको थियो ।
तीन वर्ष अघि चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि रावल एमालेको सक्रिय राजनीति बाट टाढा थिए । औपचारिक रुपमा सल्लाहकार परिषदको सदस्यको रुपमा रावललाई थन्क्याउँदै अध्यक्ष ओलीले रावललाई किनारामा पारेका थिए ।