सहकारीको रकम चोरी आरोपमा अध्यक्ष र प्रबन्धकसहित ५ जना पक्राउ

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ४ स्थित शीर्ष साना किसान कृषि सहकारी संस्थाको रकम चोरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सहकारीकै अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगाएत सहकारीसँग सम्बन्धित व्यक्ति रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्र बमले अध्यक्ष र प्रबन्धकसहित पाँच जनालाई पक्राउ गरेर सदरमुकाम ल्याइरहेको बताए ।

उनले पक्राउ परेका व्यक्तिहरूसँग अनुसन्धान अगाडि बढाएर थप कारबाही प्रक्रिया अगाडी बढाईने बताए ।
गत बर्षको चैत २३ गते जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–४, कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको थियो ।

सहकारीको कार्यालय पछाडिको ढोका खुलेको र नगद राखेको लकर फुटाई रकम चोरी भएको थियो ।
सीसीटीभी फुटेजबाट भिडियो सार्वजनिक भए पनि प्रहरीले हुलिया ठम्याउन सकेको थिएन।
२०६६ सालमा स्थापना भएको सहकारीले वर्षमा करिब १२ करोडसम्मको कारोबार गर्दै आइरहेको थियो ।

Loading...