डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–६ दमडा स्थित कालापथ्थर सामुदायिक वनमा भएको आगलागी प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार वन क्षेत्रमा आगलागी भएको सूचना प्राप्त भएलगत्तै प्रहरी टोली खटिएको र आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो। आगलागी कसले गराएको भन्ने अनुसन्धानका क्रममा अमरगढी नगरपालिका–७ निवासी २७ वर्षीय सुनिल कैनीले आगो लगाएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय डडेल्धुराको जिम्मा लगाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिएका छन ।