दक्षिणकालीमा मोटरसाइकलबाट खसेका दुई जना मृत अवस्थामा फेला

काठमाडौँ । काठमाडौँको दक्षिणकालीमा नगरपालिका–८ स्थित केराबारीमा मूल सडकबाट खसेर दुई जना मृत अवस्थामा भेटिएका छन् । मोटरसाइकलबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष छन् । घटनास्थलमा बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल भेटिएको छ । भिरालो जमिनका कारण शव निकाल्न असहज भएपछि नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोली परिचालन गरिएको छ । करिब ५ दिनअघि मोटरसाइकलसँगै उनीहरू खसेको आकलन गरिएको छ ।

बुधवार दिउँसो बाख्रा चराउन जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका हुन् । घटनाबारे प्रहरी प्रभाग फर्पिङले अनुसन्धान थालेको छ ।

Loading...