डडेल्धुरा — अमरगढी नगरपालिका–१, मालम निवासी तथा स्थानिय स्तरमा ‘बैदी’ नामले परिचित लालमुनि सार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । विगत केही महिनादेखि बिरामी रहेका सार्कीको आफ्नै निवासमा निधन भएको हो ।
उहाँ लामो समयदेखि जडीबुटी तथा परम्परागत विधिबाट उपचार सेवा दिँदै आउनुभएको थियो। सुदूरपश्चिमका गाउँ–बस्तीका हजारौं बिरामीलाई जडीबुटी औषधिबाट उपचार गर्दै उहाँले दोस्रो जीवन दिनुभएको छ । आधुनिक चिकित्सा सेवा पहुँच नपुगेका दुर्गम क्षेत्रका मानिसहरूका लागि उहाँ आशाको दीप बन्नुभएको थियो ।
जनसेवामा समर्पित जीवन
लालमुनि सार्कीलाई स्थानीयहरूले ‘देवता सरह’ सम्मान गर्थे। उविपन्न र गरिब बिरामीलाई निःशुल्क सेवा दिने गरेको गाउँलेहरू बताउँछन्। सरल, निष्ठावान् र सेवाभावी व्यक्तित्वका धनी सार्कीले जीवनको अन्तिम समयसम्म पनि बिरामीको चिन्ता गरिरहनु भएको थियो ।
उहाँको योगदानलाई स्मरण गर्दै स्थानीय युवा दिपक तमोलि भन्छन्, “लालमुनिजीको निधनले सिङ्गो डडेल्धुरा एक जना अनुभवी जनसेवक गुमाएको छ । उहाँको ठाउँ कसैले लिन सक्दैन।”
धार्मिक तथा सामाजिक आस्थाको केन्द्र
उहाँको घरमा दैनिक जसो उपचारको लागि गाउँ–सहरबाट मानिसहरू आउने गर्थे। उहाँले प्रयोग गर्ने जडीबुटीहरू घर वरपरकै वन–जंगलबाट संकलन गरेर औषधि बनाउनुहुन्थ्यो। अनुभव र परम्परागत ज्ञानका आधारमा उहाँले पुराना रोगहरू समेत सहजै निको पार्ने क्षमता राख्नुहुन्थ्यो । स्व. लालमुनि सार्कीको योगदान कहिल्यै भुल्न नसकिने स्थानीयहरू बताउँछन ।
