डडेल्धुरा अस्पताललाई बिमा सेवा फर्काउन सर्वदलीय बैठक :

डडेल्धुरा । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाउने निर्णयको चर्को विरोध भइरहेका बेला जिल्लाका प्रमुख राजनीतिक दल, सरोकारवालाहरू र नागरिक समाजबीच सर्वदलीय सर्वपक्षीय बैठक बसेको छ ।

बैठकले हालको भौगोलिक अवस्था, स्वास्थ्य पहुँचको सहजता र नागरिक हितलाई ध्यानमा राख्दै डडेल्धुरा अस्पताललाई पूर्ववत् रूपमा नै ‘प्रथम सेवा बिन्दु’ कायम गरिनु पर्ने मागसहित स्वास्थ्य बीमा बोर्डलाई औपचारिक अनुरोध गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) डडेल्धुराका कार्यवाहक अध्यक्ष चक्रसिंह ठकुराठिले भने, “राज्यको समान नीतिका बाबजुद डडेल्धुराको भौगोलिक र विशेष परिस्थिति बुझेर नै यो अस्पताललाई प्रथम सेवा बिन्दु बनाइ राख्नुपर्छ । बीमा बोर्ड लगायतका समस्याहरू समाधान नभए माओवादी केन्द्र जनताको आवाज बुलन्द गर्दै आन्दोलनमा जान बाध्य हुनेछ ।” उनले स्थानीय तहबाट तत्कालै नगर अस्पताल सञ्चालन सम्भव नभएकाले जिल्ला सरोकारको विषयमा सबै एकजुट भएर सहमति खोज्न तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको उक्त बैठकले आन्दोलनभन्दा छलफल र सहमतिको बाटोबाट नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

बैठकले डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाउँदा स्वास्थ्य सेवा लिन आउने हजारौं नागरिक मारमा पर्छन । अझै नगर अस्पताल,पालिका अस्पतालहरु बन्न बर्सौँ लाग्ने हुँदा तत्कालीन अवस्थामा यो निर्णय जनविरोधी हुने छ ।”

बैठकमा सहभागी दल, जनप्रतिनिधि र सरोकारवालाहरूले बीमा बोर्डसँग गरेको आग्रह यस्तो छ :
१) डडेल्धुरा, बैतडी, डोटी लगायत जिल्लाका नागरिकका लागि डडेल्धुरा अस्पताललाई पूर्ववत् रूपमा नै ‘प्रथम सेवा बिन्दु’ कायम गरियोस ।
२) भौगोलिक विकटता र स्वास्थ्य पूर्वाधारको अवस्थालाई मूल्यांकन गरेर मात्र नीति कार्यान्वयन गरियोस ।

बैठकले स्वास्थ्य बीमा बोर्ड, बबरमहल काठमाडौंलाई औपचारिकरूपमा पत्र पठाउने निर्णयसमेत गरेको छ । उक्त पत्रमार्फत हालसम्म जस्तै डडेल्धुरा अस्पतालबाट सेवा लिन पाउने व्यवस्था कायमै राख्न माग गरेको छ ।

Loading...