कैलालीको गोदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ।
क्षेत्रीय सहरी विकासमार्फत निर्माण गरिएको केन्द्र शुक्रवारबाट सञ्चालनमा आएको हो ।

नगर प्रमुख विरेन्द्र भट्टले पूजासहित केन्द्र सञ्चालनमा ल्याएका छन । नगर प्रमुख भट्टले केन्द्र नगरवासीका लागि हर्षको विषय भएको बताएका छन । उनले स्वच्छ र सुन्दर सहर निर्माणमा यसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका हुन । ‘नगरपालिकाको यो ठूलो र महत्वपूर्ण परियोजना सफलतापूर्वक सञ्चालनमा आएको छ । जसबाट नगरका सबै वडाहरूमा फोहोर व्यवस्थापनको कार्य प्रभावकारी रूपमा अघि बढ्नेछ’, उनले भने ।

केन्द्र सञ्चालन दुई वर्ष निजी कन्ट्रयाक्टर कम्पनी मार्फत सञ्चालन गरिने छ । त्यसपश्चात केन्द्रको जिम्मेवारी नगरपालिकाले ग्रहण गर्नेछ। नगरलाई जिम्मेवारी हस्तान्तरणपछि प्रभावकारी सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति तयार पार्न हाल ८ जना कर्मचारीहरूलाई उक्त केन्द्रमा राखिएको बताए। ती कर्मचारीहरूले काम गर्दै अनुभव हासिल गर्ने र पछि नगर पालिका अन्तर्गत सञ्चालनमा सहजीकरण गर्ने उद्देश्य लिएको उनले बताए ।

फोहोरमैला व्यवस्थापन केन्द्रमार्फत नगरभित्र रोजगारी सिर्जना भएको बताउँदै स्थानीयलाई यस परियोजनाबाट प्रत्यक्ष लाभ पुगेको बताएका छन । नगरवासीहरूलाई आफ्नै घरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर दिन नगरपालिकाले आग्रह गरेको छ। कसैले फोहोर जथाभाबी फाल्ने गरेमा नगरले जरिबाना समेत तिराउने कानुनी व्यवस्था गरिएको छ । नगर प्रमुख भट्टले सबैलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै भने, सफा, हरित र समुन्नत नगर निर्माण नगर बासीको सामूहिक दायित्व हो।’

केन्द्रको गत जेठ २२ गते नेपाल सरकारका उप–प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाश मान सिंहले समुद्घाटन गरेका थिए ।

Loading...