डडेल्धुरा । डडेल्धुराका तीन स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) तोकिएका छन ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ हाकिम आउने भएका हुन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको एकैपटक सरुवा गरेको हो ।
त्यसअनुसार अमरगढी नगरपालिकामा उपसचिव नवराज ओझा खटाइएका छन ।
ओझा यसअघि सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
यसअघि अमरगढीमा लक्ष्मीप्रसाद उपाध्याय प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।
यस्तै, परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल तोकिएका छन ।
अर्याल लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए ।
यसअघि परशुराममा कल्पना भट्ट प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिइन ।
आलिताल गाउँपालिकामा भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत उपसचिव दीपेन्द्रराज अधिकारी खटाइएका छन ।
हालैका सरुवामा आलितालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाको स्थानमा अधिकारीलाई पठाइएको हो ।
