डडेल्धुरा । डडेल्धुरामा २२ औँ निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । २२औं निजामती सेवा दिवसको अवसरमा डडेल्धुरा जिल्लाको उग्रतारा मन्दिरमा रहेको उग्रतारा वेदविश्रामका बटुकहरूलाई खाद्यान्न वितरण र उग्रतारा मन्दिर क्षेत्रमा वृक्षारोपण र रक्तदान कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ ।
व्यवसायीक र शृजनशिल प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ डडेल्धुरामा जिल्लामा २२औं निजामती सेवा दिवस २०८२ भव्य रूपमा मनाइएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना र कर्मचारी मिलन केन्द्रको सहयोग तथा समन्वयमा दुई दिने कार्यक्रम गरी यो दिवस मनाइएको हो । यस अवसरमा सामाजिक उत्तरदायित्व, अन्तर्गत स्वास्थ्य, र वातावरण संरक्षणका र खाद्यान्न वितरण कार्यक्रमहरू सम्पन्न भएका छन ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्लास्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा कर्मचारीहरू, सुरक्षा निकायका प्रमुख र सुरक्षाकर्मीहरूको उल्लेख्य सहभागिता थियो । दुईदिने कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरियो भने दोस्रो दिन खाद्यान्न वितरण र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
यस्तै उग्रतारा वेदविश्रामका बटुकहरूलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न हस्तान्तरण गरिएको थियो । यस सामाजिक कार्यमा योगदान पु¥याएकोमा कर्मचारी मिलन केन्द्र डडेल्धुराका अध्यक्ष करुणाकर अवस्थीले सबैलाई धन्यवाद व्यक्त गरे । उनले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबैको दायित्व भएको र यस कार्यक्रमले त्यसको सुन्दर उदाहरण प्रस्तुत गरेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वातावरणीय संरक्षणको दृष्टिले यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको बताएका छन । उनले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने र यसलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारीले निजामती कर्मचारीको भूमिकाको प्रशंसा गर्दै निजामती सेवा दिवसले कर्मचारीलाई आफ्नो पेसाप्रति गर्व महसुस गराउने र जनता तथा प्रशासनबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।
कर्मचारीहरूमा सकारात्मक सन्देश प्रवाह गर्दै प्रशासनिक कार्यक्षमता सुधार गर्न मद्दत पुर्याएको । प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
नेपालमा पहिलोपटक २२ भदौ २०१२ मा निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई अवसर पारेर २०६१ सालपछि हरेक वर्ष यो दिनव मनाउन थालिएको हो ।