दार्चुला। दार्चुलाको सदरमुकाम खलंगामा भारतीय स्काइभेटरले अनुमति बिना महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गरेपछि स्थानीयले कडा विरोध जनाएका छन्। नेपाल प्रहरीले स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको छ। स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन ।
घटनास्थलमा भेला भएका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन । उनीहरूले भारतको दादागिरी र सीमा मिच्ने प्रवृत्तिको कडा आलोचना गरेका छन ।
प्रहरीका अनुसार आज बिहानदेखि स्काइभेटरका चालकलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको र स्थानीय प्रशासनले यसबारे भारतीय पक्षसँग औपचारिक कुरा गर्ने तयारी गरिरहेको बताइएको छ ।
यस घटनाले नेपाल-भारत सीमा विवादलाई पुनः सतहमा ल्याएको छ। स्थानीयले यस्ता गतिविधि रोक्न कूटनीतिक तहमा प्रभावकारी पहल गर्न सरकारलाई दबाब दिएका छन ।
अहिले जिल्लाको सुरक्षा टिम लगायत जनप्रतिनिधि महाकालीमा पुगेका छन ।